feedback

पटक पटक भूकम्पको धक्का महसुस, मर्नेको संख्या ७ हजार ९ सय ३ पुग्यो

काठमाडौ, २५ बैशाख । महाभूकम्प आएको दुई साता भइसक्दा पनि भूकम्पका झट्का भने निरन्तर आइरहेको छ ।
आज मात्र ४ रेक्टरमाथिका ५ वटा पराकम्पन आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पछिल्लो पटक दिउँसो ३ बजेर ५ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो भने त्यसअघि दिउँसो करिब साढे १ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु रहेको ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको छ ।
केन्द्रका अनुसार आज बिहान २ बजेर १९ मिनेटमा सिन्धुपाल्चोक नै केन्द्र विन्दु रहेको ४ रेक्टर, बिहान ६ बजेर १७ मिनेटमा सिन्धुपाल्चोक र दोलखाको सिमामा ५ रेक्टर, ८ बजेर १९ मा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ४.२ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको छ । यसअघि हिजो ३ वटा र अस्ति बुधबार २ वटा ४ रेक्टरमाथिको पराकम्पन गएको थियो । भूगर्व्विद्हरुले भने ठूलो भूकम्पपछि साना पराकम्पनहरु धेरै दिनसम्म पनि जाने भएकाले त्यसले क्षति भने नपुर्याउने बताउँदै आएका छन् ।
बैशाख १२ गते गएको ७ दशमलव ६ रेक्टरको महाभूकम्पमा परेर अहिलेसम्म ७ हजार ९ सय ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयले आज साँझ दिएको तथ्यांकअनुसार घाइतेको संख्या १५ हजार ९ सय ३५ पुगको छ । तथ्यांक संकलनका काम जारी रहेकाले मृतक र घाइतेको संख्या अझै थपिने सम्भावना रहेको प्रहरीको भनाइ छ ।

 

Leave a Comment

*