feedback

अध्यादेशमार्फत तत्कालै प्राधिकरण गठनसम्बन्धी ऐन ल्याउने विषयमा सहमति नजिक

काठमाडौँ, ५ असार । भूकम्प पुनःनिर्माण प्राधिकरण तत्काल गठन गर्नुपर्छ भन्ने विषयमा प्रमुख सत्तारुढ दलबीच रहँदै आएको मतभेद सकारात्मक दिशातर्फ उन्मुख देखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साझ नेपाली काँग्रेस र नेकपा (एमाले)का नेताहरुबीच भएको छलफलपछि परिस्थितिले सकारात्मक मोड लिएको बताइएको छ ।

नेपाली काँग्रेसले नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन अगावै प्राधिकरण गठनमा जोड दिएको छ भने नेकपा (एमाले)ले व्यवस्थापिका–संसद्मा सो विषयमा छलफल गरेर कानुन तयार भएपछि मात्रै गठन गर्न उपयुक्त हुने तर्क गर्दै आएको छ ।

दुई दलको साँझ भएको छलफलपछि राससको जिज्ञासामा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तत्कालै आध्यादेशमार्फत प्राधिकरण गठनसम्बन्धी ऐन ल्याउनु पर्छ भन्ने विषयमा सत्तारुढ दलबीच निकटता देखिएको प्रतिक्रिया दिनुभयो ।

यसअघि आजै दिउँसो प्राधिकरण गठनको विषयमा केन्द्रित रहेर प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख चार दलबीच भएको छलफलबाट निष्कर्ष निस्कन सकेको थिएन । बैठकमा प्राधिकरण कस्तो बनाउने, नेतृत्व कसले गर्ने र कहिले गठन गर्ने भन्नेमा पनि केही मत भिन्नता रहेको छ ।

छलफलमा काँग्रेसले यही असार १० गते हुन लागेको नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन अगावै प्राधिकरण गठन गरेर अन्तर्राष्ट्रिय समुदायलाई विश्वासमा लिनुपर्नेमा जोड दिँदै आएको छ ।

राजनीतिक निर्णयका आधारमा घोषणा गरिने भएपनि प्राधिकरण गठनसम्बन्धी हालसम्म तयार भएका मस्यौदाका बारेमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र मुख्यसचिव लीलामणि पौड्यालले सो मस्यौदा प्रतिवेदनको अध्ययन गरी अन्तिम स्वरुप दिने काममा जुटिरहुनभएको बुझिएको छ ।

बालुवाटारमा साँझ भएको छलफलमा नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष बामदेव गौतम, स्थायी समिति सदस्य शङ्कर पोखरेल सहभागी हुनुहुन्थ्यो ।

 

Leave a Comment

*