feedback

राजतन्त्रको समर्थनमा नारा लाउने रा.प्र.पा मन्त्रीलाई कारबाही

Rajtantra

काठमाडौं, ६ बैशाख । नारायणहिटी दरबार अगाडी राजतन्त्रको नारा लगाउने आफ्ना मन्त्रीलाई राप्रपा नेपालले फिर्ता बोलाउन पत्राचार गरेको छ । स्थानीय विकास सहायकमन्त्री विराज विष्टलाई पदीय मर्यादा विपरित काम गरेको आरोपमा राप्रपाले फिर्ता बोलाउन प्रधानमन्त्रीसमक्ष पत्राचार गरेको हो ।

राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्चालमार्फत भनेका छन्, ‘राप्रपा नेपालले पदीय मर्यादा विपरीत गतिविधिमा संलग्न स्थानीय विकास सहायकमन्त्री बिराज बिष्टलाई फिर्ता बोलाउन सम्माननीय प्रधानमन्त्री समक्ष पत्राचार गरेको छ।’ तीन साताअघि राप्रपा नेपालको वीरगन्जमा सम्पन्न विस्तारित बैठकको पूर्वसन्ध्यामा सहअध्यक्ष केशरबहादुर विष्टले नेतृत्वको आलोचना गर्दै विज्ञप्ती जारी गरेपछि राप्रपा नेपालको विवाद छताछुल्ल भएको थियो ।

उनले पार्टी हित विपरितको गतिविधि गरेको भन्दै राप्रपा नेपालले तीनवर्षे निलम्बनको गरिसकेको छ । विष्टको निलम्बनसँगै उनको छोरा समेत रहेका सहायकमन्त्री विराज बाबुको समर्थन गर्दै संस्थापनविरुद्वको भेलामा सहभागि हुँदै आएका थिए । यसरी विराज पार्टीको विरोधमा सहभागि भएकै कारण उनलाई पदीय मर्यादा विपरितको गतिविधिमा संलग्न रहेको भन्दै प्रधानमन्त्रीसमक्ष फिर्ता पठाउन सिफारिस गरिएको बताइएको छ । यसअघि शनिबार मन्त्रीको हैसियतमा नारायणहीटी दरबारको मुलढोकामा पुगेर विष्टले राजतन्त्रको पक्षमा नारा लगाएका थिए ।
उनले राजसंस्था र पार्टीको एजेण्डाको बारेमा बोलेकै आधारमा पार्टीले सहअध्यक्ष केशरबहादुर विष्टलाई निलम्बन गर्नु र आफूलाई फिर्ता बोलाउनु दुःखद भएको बताउँदै राप्रपा नेपालले एजेण्डा छाडेपनि आफूहरुले कहिल्यै पनि पार्टीको एजेण्डा नछाड्ने र राजतन्त्र र हिन्दुराष्ट्रको पक्षमा लागिरहने उद्घोष समेत गरेका थिए

Courtesy: ratopati.com

 

 

Leave a Comment

*