feedback

कालीकोटको जितपुर छाउपडी मुक्त गाउँ घोषणा

रमेश रावल
कालिकोट। मध्य तथा सुदूरपश्चिममा परम्परादेखि कुरितीका रुपमा कायम रहेको छाउपडी प्रथा उन्मूलन गर्ने अभियान चलिरहेको बेला कालिकोट जिल्ला सदरमुकाम मान्मसँगै जोडिएको बदालकोट गाविस वडा नं. ३ जितपूर (जिमजेडी) गाउँलाई जिल्लाकै दोश्रो छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ।

छाउपडी प्रथा मुक्त तथा यसबाट हुने महिला हिंसा र विभेदलाई न्यूनीकरण गर्ने गरी ‘सहयोगी हातहरूको समूह साहस नेपाल’ कालिकोटको पहलमा बदालकोट गाविसको वडा नं. ३ मा जनचेतनामूलक, सशक्तिकरण तथा सहजीकरणका कार्यक्रमहरू सञ्चालन गरी वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरेको हो।

५२ घरधुरी रहेको उक्त वडामा महिला महिनावारी हुँदा दैनिक सरसफाइ गरी घर मै बस्न थालेपछि जिल्लाकै नमुना वडाको रुपमा छाउपडी मुक्त वडा घोषणा गरिएको पचाल झरना राष्ट्रिय समाज नेपालका अध्यक्ष निलो तिरूवाले बताउनुभयो।

‘महिला महिनावारी हुँदा ओडार र गोठमा बस्दा जङ्गली जनावरको शिकार भइ ज्यान गुमाउनु परेका घटनाहरू हुने गरेका थिए,ग्रामिण भेगको बस्तुस्थिती बुझ्दा यथार्थता नै देखिएकाले यो अभियानलाइ जितपुरमा मात्र नभै जिल्लाका सबै क्षेत्रमा अभियानकै रूपमा अगाडी बढाउनु जरुरी छ’ उहाँले भन्नुभयो।

२ वर्षअघि बदालकोट गाविसको वडा नं. १ लाई जिल्लाकै पहिलो छाउपडी गोठमुक्त घोषणा गरिएको थियो। मध्य तथा तथा सुदूरपश्चिमका धेरै जसो वस्तिका महिला महिनावारी हुँदा तीनदेखि सात दिनसम्म गोठ र ओडारमा बस्नुपर्ने, गाई भैंसीको दुध, दही खान नपाउने, गाई वस्तु, फलफूलका विरुवा समेत छुन नदिने तथा महिनावारी भएका बेला घरभित्र बसे देउता लाग्ने र अनिष्ट हुने भन्ने रुढिवादी सोच र परम्परा रहँदै आएको छ।

 

Leave a Comment

*