feedback

वैचारिक प्रतिस्पर्धाबाट पराजयपछि व्यक्ति हत्या ः युवा सङ्घ

 

काठमाडौँ, १४ पुस । युवा सङ्घ नेपालका अध्यक्ष राजीव पहारीले मधेसी दलले राजनीतिक र वैचारिक प्रतिस्पर्धामा उत्रन नसकेपछि व्यक्ति हत्याको तहमा ओर्लिएको बताउनुभएको छ ।

नयाँ संविधानबारे तराई मधेसमा संवाद सञ्चालन गरिरहेको सङ्घले सर्लाहीका एमालेका जिल्ला सदस्य रामनरेश यादवको हत्याको विरोधमा थप आवाज बुलन्द गर्ने पनि उहाँले जनाउनुभयो ।

अध्यक्ष पहारीले भन्नुभयो, “नेपाललाई भुटानीकरण र सिक्किमीकरण गराउने र अखण्डतालाई बिथोल्ने तत्वले तराई मधेसमा आन्दोलनका नाममा अराजकता मच्याएको छ । यसको हामी भण्डाफोर गर्न चाहान्छौँ ।

उहाँले तराईमा विगतमा वितरण गरिएको नागरिकता छानबिन गर्नुपर्ने, भारतका ग्राम पञ्चायतमा निर्वाचन हारेका व्यक्ति नेपालको संसद्मा निर्वाचितसमेत भएका घटनाको छानबिन गर्नुपर्ने माग पनि गर्नुभयो ।

अर्काे सन्दर्भमा अध्यक्ष पहारीले मुलुकमा अन्य समस्या भएका समयमा मन्त्रिमण्डल विस्तार भएकामा पनि विरोध गर्नुभयो । सङ्घको केन्द्रीय टोलीले पूर्वको मेचीबाट जागरण अभियान सञ्चालनका क्रममा अध्यक्ष पहारी, उपाध्यक्ष दिलुकुमारी पन्त, प्रवक्ता प्रभातविक्रम कटवाल लगायतको टोली परिचालन गरेको छ ।

 

Leave a Comment

*