feedback

नेपाल पत्रकार महासंघ विषय नवलपरासीको अमल्टारीमा बसेको छैठौं बैठक

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको मंसिर २६ गते नवलपरासीको अमल्टारीमा बसेको छैठौं बैठकले देहाबमोजिम निर्णयहरू गरेको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले महासचिव उजिर मगरद्वारा प्रस्तुत सांगठनिक तथा भावी कार्यक्रमसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष सूर्यमणि गौतमद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गर्दै संगठनात्मक र समसामयिक विषयमा महत्वपूर्ण निर्णयहरू गरेको जानकारी गराउँदै सोहीबमोजिम आवश्यक निर्णयहरूको कार्यान्वयन गर्न गराउनका लागि यो सर्कुलर गरिएको छ ।
१. पत्रकारको भौतिक सुरक्षा र स्वतन्त्रता सन्दर्भमा
(क) नयाँ संविधान जारी भएपछि खासगरी तराई मधेशमा चलिरहेको आन्दोलन र प्रेस स्वतन्त्रता हननको अवस्थालाई दृष्टिगत गरी तराई÷मधेस केन्द्रित ‘प्रेस स्वतन्त्रताका लागि पत्रकार सुरक्षा, सामाजिक उत्तरदायित्वसहितको व्यावसायिक पत्रकारिता’ विशेष अभियान सञ्चालन गर्ने । यस अन्तर्गत प्रशिक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिसन सञ्चालनका साथै आचारसंहिता र जिम्मेवार पत्रकारितासम्बन्धी विषयवस्तुलाई केन्द्रित गरिने निर्णय भएको छ ।
(ख) सञ्चारकर्मी र सञ्चारसंस्थालाई राहत र पुनस्र्थापनाका लागि राज्यका तर्फबाट विशेष कार्यक्रम ल्याउन सरकारलाई दवाव सिर्जना गर्ने । प्रेस काउन्सिल र सूचना विभागलगायतका निकायबाट सञ्चार उपकरण खरीद, लोककल्याणकारी विज्ञापन वापतको रकम भुक्तानी, वर्गीकरणमा सहुलियत, सार्वजनिक हितसम्बन्धी सन्देशसहितका लागि व्यवस्था मिलाउनका लागि थप पहलकदमी लिने निर्णय बैठकले गरेको छ ।
२. महासंघको संगठन सन्दर्भमा
(क) महासंघका सवै शाखा तथा एशोसियट संस्थाहरुको साधारणसभा २०७२ माघ मसान्तसम्म सम्पन्न गरिसक्न सवै शाखा÷एशोसियटलाई यसै सर्कुलर मार्फत आह्वान गरिएको छ ।
(ख) महासंघको नयाँ सदस्यता तथा नवीकरणका लागि २०७२ माघ मसान्तभित्र केन्द्रमा विवरण पठाइसक्न सवै शाखा÷एशोसियटलाई आह्वान गर्ने । नयाँ सदस्यता सिफारिस तथा नवीकरण गर्दा पारदर्शिता, शुद्ध्रीकरण र निष्पक्षता अपनाउने । सवैको जानकारीका लागि सार्वजनिक सूचना र विवाद भएको अवस्थामा पत्रकारबीचको सार्वजनिक सुनुवाई अनिवार्य गर्ने गरी निर्देशिका जारी गर्न यसै बैठकबाट आह्वान गरिएको छ ।
(ग) नयाँ संविधान जारी भैसकेको सन्दर्भलाई समेत मध्यनजर राखी राज्यका प्रादेशिक ढाँचासँग मेल खानेगरी महासंघको नयाँ विधान जारी गर्न आगामी केन्द्रीय साधारण सभामा प्रस्तुत गर्न विधान मस्यौदा समिति गठन गर्ने । सो समितिले तत्कालै राय सुझाव संकलन र मस्योदाको कार्य सुरु गर्ने ।
(घ) पत्रकार दुर्घटना बीमा प्रारम्भ हुनु खुशीको विषय हो, यसलाई अभियानकै रुपमा अघि बढाई सहभागिता व्यापक बनाउने ।
(ङ) द्वन्द्वपीडित पत्रकार कोष सञ्चालन र स्वास्थ्य बीमा वा सहुलियतका लागि पहल गर्ने ।
३. श्रमजीवी पत्रकारका सन्दर्भमा
(क) भूकम्प, तराई मधेश आन्दोलन र अघोषित नाकाबन्दीको बहानामा कतिपय सञ्चारमाध्यमले श्रमजीवी पत्रकार निश्कासन गर्ने, नवीकरण नगर्ने, सुविधा कटौती गर्ने, समयमै पारिश्रमिक नदिने जस्ता कार्य गरेकोमा
आपत्ती जनाउँदै यस्ता कार्य नगर्न सम्बद्ध सवैमा अपील गर्दै वैठकले मिडियामा देखिएको संकटको मिलेरै सामना गर्न आग्रह गरेको छ ।
(ख) महासंघको पहलमा न्यूनतम पारिश्रमिक निर्धारण समितिले सिफारिस गरेको न्यूनतम पारिश्रमिक लागू गराउन दवावका कार्यक्रम सञ्चालन गर्ने । साथै, समग्रतामा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनलाई थप प्रभावकारी तुल्याउन र परिणाममुखी बनाउन थप कार्यक्रम सञ्चालन गर्ने ।
(ग) श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सरकारलाई थप दवाव दिने र व्यवस्थापिका संसदको विकास समिति र श्रम समितिको निर्देशन पालना नभएकोमा समितिहरु मार्फत सरकारलाई  ध्यानाकर्षण गराउने ।
(घ) श्रमजीवी पत्रकार ऐनको उल्लंघन भएको कारण मर्कामा परेको कारण कानुनी उपचार खोज्न चाहने कुनै पनि श्रमजीवी पत्रकारलाई कानुनी डेस्कमार्फत कानुनी सेवा प्रदान गर्ने निर्णयलाई निरन्तरता दिइने छ ।
४. मिडियाको प्रवद्र्धन र व्यावसायिक विकास सन्दर्भमा
(क) अघोषित नाकाबन्दी, तराई÷मधेस आन्दोलनबाट सृजित अवस्थालाई दृष्टिगत गरी सञ्चारकर्मी र सञ्चार गृहलाई सहजरुपमा इन्धन, कागज, मसी, आवतजावतका लागि थप पहल लिने । भूकम्प र आन्दोलनबाट प्रभावित सञ्चारगृहलाई सहुलियतको व्यवस्था मिलाउने पहल लिने । भूकम्प, आन्दोलनका कारण क्षति पुगेका सञ्चारगृहलाई सहुलियतमा ऋण, ती समयमा प्रकाशन हुन नसकेका पत्रपत्रिकाको वर्गीकरण बेला सहुलियतका लागि प्रेस काउन्सिलसँग परामर्श गरी केही नीति तय गर्न पहल लिने ।
(ख) साना लगानीमा सञ्चालित छापा माध्यमलाई सम्बर्धन र विकास गर्नका लागि समानुपातिक विज्ञापन वितरणका लागि पहल लिइने छ । साना मिडियाले खेप्नु परेका समस्याबारे यसअघिका निर्णयहरुलाई कार्यान्वयनका लागि पहलकदमीलाई निरन्तरता दिने ।
५. पत्रकारको दक्षता अभिवृद्धि सन्दर्भमा
(क) राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना तत्काल गर्न सरकारलाई आग्रह गर्ने । (ख) पत्रकारको दक्षता अभिवृद्धिका लागि विषयगत विधा र जिल्ला तहमा पनि तालिमको व्यवस्था गरिने छ ।
६. बृत्तिविकास तथा पुरस्कार सम्बन्धमा
क) प्राकृतिक विपती तथा आपतकालीन घटनामा उद्धार, राहत र पुनस्र्थापनाका लागि रु. २५ लाखको विपत, उद्धार तथा राहत कोष स्थापना गर्ने ।
ख) लामो समयसम्म पत्रकारिताको माध्यमबाट राष्ट्रको सेवा गरेका वरिष्ठ पत्रकारहरू जीवनको उत्तराद्र्धमा आएर जीवनयापन र स्वास्थ्य उपचारको समस्याले पिरोलिएर कष्टकर जीवन बिताउन बाध्य हुनुपरेको विडम्बनापूर्ण अवस्थालाई अन्त्य गर्न सरकारलाई यस अघि पटक पटक ध्यानाकर्षण गराएकोमा हालसम्म सुनुवाई भएको छैन । यस विषयमा सरकारको निरन्तर ध्यानाकर्षण गराउँदै महासंघको आफ्नै श्रोतमा नेपाली पत्रकारिताको क्षेत्रमा ३० वर्ष भन्दा बढी योगदान र ६० वर्ष उमेर पूरा गर्नु भएका अग्रज पत्रकारहरूको सम्मानमा वार्षिक रु ६ हजार प्रदान गर्ने गरी वरिष्ठ पत्रकार सम्मान वृत्ति कार्यक्रमलाई यसै आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउनेछ ।
ग)  बिकट  र  दुर्गम कर्णालीमा रहेर पत्रकारिताका माध्यमबाट सक्रिय योगदान गर्नु भएकी नेपाल पत्रकार महासंघकी पूर्वकेन्द्रीय सदस्य स्वर्गीय गौरी कठायतको सम्झनामा रु. १,५०,०००।– (एक लाख पचास हजार) राशीको गौरी कठायत पत्रकारिता पुरस्कार अक्षयकोषको स्थापना गर्ने ।
………………..
उजिर मगर
महासचिव

 

Leave a Comment

*