feedback

सूचनाको हकसम्बन्धी अभियान गाविसमा

नेपालगन्ज, १३ कात्तिक । बाँके जिल्लाका ग्रामीण क्षेत्रका नागरिकमा सूचनाको हकसम्बन्धी विषयमा जानकारी गराई नागरिक अधिकारलाई थप सुरक्षित बनाउने अभियान थालिएको छ ।
स्थानीयस्तरमा रहेका सार्वजनिक निकायमा सुशासन, पारदर्शितासँगै सबै कुरा थाहा पाउने अधिकार सुनिश्चित गर्नका लागि अभियान थालिएको हो ।
सार्वजनिक निकायका सेवा, सुविधा, पारदर्शिता, जवाफदेहितासँगै सेवाग्राहीलाई सहज रुपमा सूचना उपलब्ध गराउने वातावरण सृजनाका लागि ग्रामीण क्षेत्रका नागरिकलाई सूचना अधिकारका विषयमा जानकारी गराउन पनि अभियान सार्थक हुने विश्वास गरिएको छ ।
अभियानअन्तर्गत हालसम्म जिल्लाका करिब एक दर्जन गाविसमा कार्यक्रम सम्पन्न गरिएको छ भने सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बुधबार जिल्लाको गनापुर गाविसमा एकदिने नागरिक अभिमुखीकरण गरेको छ ।
अभिमुखी कार्यक्रममा गनापुर, शम्सेरगन्ज, बेलहरी गाविसका युवा, महिला, उपभोक्ता, सेवाग्राहीलगायत करिब ८० जनाको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कोहलपुरका निमित्त प्रमुख हरिबहादुर खत्रीले सूचना पाउने अधिकार सबै नागरिकको मौलिक अधिकारअन्तर्गत पर्ने भएकाले सार्वजनिक निकायले सूचना प्रवाहमा आनाकानी गर्न नहुने बताउनुभयो ।
त्यस अवसरमा गाविस सचिव परशुराम शुक्ला, केन्द्रका अध्यक्ष विश्वजित तिवारी, युवा अभियानका विशाल रानालगायतले सूचनाको हकलाई विकासको मूल आधार बनाउनुपर्नेमा जोड दिनुभयो ।

 

Leave a Comment

*